२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

जोडियो वारिपारि, ‘सीमा पुलबाट समृद्धिको आशा’

पुनर्वास खबर शुक्रबार ३०, माघ २०७७ १०:४४

जोडियो वारिपारि, ‘सीमा पुलबाट समृद्धिको आशा’

महेन्द्रनगर । भारत ब्रिटिसको उपनिवेश रहेका बेला महाकाली नदीमा फलामको पुल बन्यो। करिब डेढ शताब्दीअघि बनेको उक्त पुललाई भारतले शारदा नदीको पुल भन्ने गर्छ। नेपालले महाकालीको पुल भने पनि अंग्रेजहरूले बनाएको उक्त पुल पूरै भारतमा पर्छ।

चलचित्रका सो जस्तै दिनमा तीन पटक मात्रै ढोका खोल्ने पुल पश्चिम नेपालको समृद्धिको बाधक थियो। तर नेपाल सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण गरिरहेको छ। करिब तीन अर्बको लगानीमा २०७४ सालदेखि निर्माण सुरु भएको चार लेनको पक्की पुलको निर्माण ७० प्रतिशतभन्दा बढी भइसकेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधारा र चाँदनी अथवा अहिलेको महाकाली नगरपालिकामा चार लेनको पुल बन्न थालेको हो। सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको महाकालीमा बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशकै समृद्धि हुने अपेक्षा गरिएको छ।

महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा चाँदनीवासीलाई समेत यस पुलले भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त गर्नेछ। भारतका प्रमुख व्यापारिक सहरहरू यहाँबाट छोटो दूरीमा पर्छन्। भारतको राजधानी दिल्ली त्यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ। अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट नजिक छन्।

कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि महाकाली नदीमा बन्न लागेको पुल महत्वका साथ हेरिएको छ। हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन्। सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारीसाधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन्।

सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको महाकालीमा बन्न लागेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको रूपमा विस्तार गर्न सके सुदूरपश्चिम प्रदेशकै समृद्धि हुने अपेक्षा गरिएको छ।

महाकाली नदीमा निर्माणाधीन पुल सम्पन्न भएपश्चात् भारतीय राष्ट्रिय राजमार्गसँग जोडिए सुदूरपश्चिमको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने व्यवसायी माधव जोशीले बताए। ‘शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुन्छ, त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएको छ’ उनले भने। उनले, अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए। ‘यसले लागत धेरै बढाएको छ’ उनले भने।

महाकालीमा पुल निर्माणपछि भारतका ठूला औद्योगिक क्षेत्रहरूसँग सहज पहुँच हुने भएकाले समेत महाकाली पुललाई यहाँको समृद्धिको रूपमा हेरिएको छ। ‘भारतका उद्योगपति नेपालमा उद्योग स्थापनाका लागि हामीसँग सम्पर्कमा छन्’ जोशीले भने। ‘पुल निर्माणपछि बाह्य लगानीसमेत यहाँ भित्रिने सम्भावना छ।’

भारतीय पक्षले हामीले भन्ने महाकालीको पुल र भारतले भन्ने गरेको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला गर्छ। बिहान ६ बजेदेखि ८ बजेसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दिनमा तीन घण्टा मात्रै ब्यारेज खुल्ने भएकाले नेपाली व्यापारी परेसान छन। सो समयमा सात टनभन्दा बढी सामान ल्याउन निषेध गरिएको छ।
अर्कोतर्फ पर्यटनको समेत ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका व्यवसायीहरू बताउँछन्। भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट ३ सय ५० किमिको दूरीमा रहेको छ।

तेस्रो मुलुकबाट आउने पर्यटकहरूका लागि गड्डाचौकी नाका भएर आउन सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको जानकारहरू बताउँछन्।

भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले समेत महाकाली पुलले ठुलो टेवा पुग्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए। उनले दैनिक चार घण्टामात्रै खुला हुने शारदा ब्यारेज कञ्चनपुर उद्योग वाणिज्य संघको पहलपछि दैनिक सात घण्टा खुला गर्न लागेको बताए।
‘महाकाली पुल निर्माण सम्पन्न पछि निर्वाध रूपमा आवातजावत गर्न सकिन्छ’ उनले भने। ‘व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा समेत ठूलो टेवा पुग्छ।’

१९९८ मा शारदा ब्यारेजसँगै निर्माण भएको टनकपुरको पुल निर्माणपछि सञ्चालनमै आएन। भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै उक्त पुलमा नेपाली पक्षलाई आवतजावतमा रोक लगाएको छ। तर पुलमा भारतीय पक्षको एकाधिकार छ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलको काम ६० प्रतिशत सम्पन्न भएको पुल आयोजना कार्यालयले जनाएको छ। पुलका सबै पिल्लर निर्माणको काम सम्पन्न भएको छ भने ३ सय ५० मिटर पुलमा सवारीसाधनसमेत सञ्चालनमा आएका छन। हाल दोधारा चाँदनीका बासिन्दाले पनि यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन्।

पुलमा ३२ स्ल्याबमध्ये आधा राखिसकिएको छ। पुलका ३४ वटै पिलर बनिसकेका छन। ‘वैशाखसम्म काम सक्ने लक्ष्यअनुसार काम तीव्र भइरहेको छ’ निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने। ‘स्ल्याब हाल्ने काम चलिरहेको छ।’ महाकालीको पानी अहिले पुल मुनिबाट बग्छ। हिउँदमा पानीको सतह कम भएकाले पुलमा आउजाउ सहज भएको हो।

आठ सय मिटरको लम्बाइ र २३.८ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडकसमेत निर्माणाधीन चरणमा छ।

पुलसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नदीका दुवै किनारतर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण भइरहेको छ। यो पुल नेपालमा पहिलो चोटी सबैभन्दा ठूलो लगानीमा बन्न लागेको हो। नेपालमा क्षेत्रफलको हिसाबले ठूला पुल बने पनि ठूलो लागतमा पहिलो चोटी कञ्चनपुरमा चार लेनको पक्की पुल बन्न लागेको हो।
यसअघि पैदल यात्रु र दुईपांग्रे सवारीसाधनको आवागमन झन्डै डेढ किमि लामो झोलुंगे पुलबाट हुने गरे पनि चारपांग्रे सवारीसाधन भारतबाट मात्र सम्भव थियो। तर अब त्यो बाध्यता अन्त्य भएको छ।

‘महेन्द्रनगर सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटेको छ’ दोधारा चाँदनीका स्थानीय भीम कुमालले भने। ‘अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन।’दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको १ हजार ४ सय ९५ मिटर लामो झोलुंगे पुलले पनि निकै राहत दिएको थियो। व्यक्ति र दुईपांग्रे सवारीले महाकाली तर्न यही झोलुंगे बनेपछि मात्र सम्भव भएको थियो। दोधारा चाँदनीमा ५४ हजारभन्दा बढी जनसंख्या छ।-अन्नपूर्णबाट


प्रतिकृया दिनुहोस

भर्खरै