२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

जनप्रतिनिधिले घरघरमा पुगेर कोरोनाबारे जनचेतना फैलाउनुपर्छः अध्यक्ष तिमिल्सिना

पुनर्वास खबर शनिबार ०६, मङि्सर २०७७ ०२:२५

जनप्रतिनिधिले घरघरमा पुगेर कोरोनाबारे जनचेतना फैलाउनुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ (कोरोनाभाइरस) रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिहरुले घरघरमा पुगेर जनचेतना फैलाउनुपर्ने बताएका छन् । 
‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताए । 

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने उनले बताए । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविश्यमाथि समेत बलियो आधार तयार हुने उनको भनाइ छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलो मै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । 


कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए । तर पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए । अवको चार महिनामा थप करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले बताए ।  सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दावी गरे । 

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए ।  उनले अहिले पनि कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताए । 


प्रतिकृया दिनुहोस