२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

मुम्बईले जित्यो पाँचौं पटक आइपिएलको उपाधि

एजेन्सी बुधबार २६, कार्तिक २०७७ १०:००

मुम्बईले जित्यो पाँचौं पटक आइपिएलको उपाधि

यूएईमा सम्पन्न १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । गएराति सम्पन्‍न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै साविक विजेता मुम्बईले पाँचौंपटक आइपिएलको उपाधि जितेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गरेको हो । मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए । त्यसैगरी इशान किशनले अविजित ३३ र क्विन्टन डिककले २० रन बनाए । सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको मुम्बईले अन्त्यतिर केही विकेट गुमाएको थियो ‌। दिल्लीका एनरिच नोर्त्जेले २ तथा मार्कस स्टोइनिस र कगिसो रबाडाले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । कप्तान श्रेयस अय्यर ६५ रनमा अविजित रहँदा रिषभ पन्तले ५६ रनको योगदान दिए । मुम्बईका ट्रेन्ट बोल्टले ३ नेथन कुल्टरनाइलले २ र जयन्त यादवले १ विकेट लिए ।

उपाधि रक्षा गरेसँगै मुम्बईले ट्रफीसहित नगद २० करोड भारु जितेको छ भने उपविजेतामा सीमित दिल्लीले १२ करोड ५० लाख प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी किङ्स इलाभेन पञ्जाबका केएल राहुल बनेका छन् ‌। उनले १४ खेलमा ६७० रन बनाएका थिए । यद्यपि उनको टोली लिग चरणबाटै बाहिरिएको थियो ।

३० विकेट लिएका कगिसो रबाडा सर्वाधिक विकेट लिने बलर बनेका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजस्थानका जोफ्रा आर्चर घोषित भएका छन् भने उत्कृष्ट युवा खेलाडी बैंगलोरका देवदत्त पडिक्कल घोषित भएका छन् ।


प्रतिकृया दिनुहोस