२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

दशैको रातो टिका नपुछिँदै भारत पस्न थाले सुदूरपश्चिमेलि

वीरबहादुर सिहँ बिहिबार १३, कार्तिक २०७७ ०३:१६

दशैको रातो टिका नपुछिँदै भारत पस्न थाले सुदूरपश्चिमेलि

कञ्चनपुर । दशैको आज तेस्रो दिन । तिहार आउन दुई साता बाँकी छ । विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। दशमीको दिन टीका लगाउन नभ्याउनेले पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ । तर कोरोनाका बिच स्वदेश फर्केका नेपालीहरू निधारमा लगाएको रातो टिका नपुछिँदै भारत पस्न थालेका छन् ।

दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर उनीहरू अहिले कञ्चनपुरको सीमा नाका गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत गईरहेका छन् । प्रत्येक वर्ष चाडबाड नजिकिएसँगै भारतबाट यी नाकामा हजारौँ सङ्ख्यामा नेपाली स्वदेश फर्किने गर्दथे । चाडबाडमा आएका नेपाली पारिवारिक मिलनसगैं दुःखसुख साटासाट गरिन्थ्यो ।

तर, कोरोनाको कहरका बेला स्वदेश फर्किएका नेपालीहरूलाई न राज्यले नै केही गर्न सक्यो न त जीविकोपार्जनका लागि कुनै व्यवस्थापन हुन सक्यो । जसले गर्दा चाडबाडको मुखमा उनीहरू पेट पाल्नकै लागि भारत पस्न बाध्य छन् । यति बेला परिवारसँग मिठो मसिनो खाँदै रमाउने समय हो । तर गरिबीमा जेलिएकाहरूले भने चार्ड पर्वमा रमाउन पाएका छैनन् ।

उनीहरू त, मनभारी पार्दै स्वदेश छोड्न बाध्य छन् ।एकतिर चाडबाड, अर्कोतिर कोरोनाको कहर । तैपनि चाडबाडमा काम खोज्दै भारत जानेहरूलाई कोरोनाको कुनै डर छैन । मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ ।

घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानुपर्ने बाध्यता छ, कैलालीको मोहन्यालका मदन जोशीले भने,‘तिहार पनि नजिकै आइरहेको छ, तिहार मनाउने रहर हुँदा हुँदै पनि आर्थिक अभावकै कारण भारत गइरहेको छु ।’

घरको आर्थिक अवस्था कमजोर भएर विदेशमा मजदुरी गर्न जान उनीहरू भारत जाने गरेका छन् लकडाउनै बिचमा घर फर्केका बाजुराका मोती खत्री पनि अहिले दशै मनाएर फेरि भारत फर्किएका छन् । स्वदेशमा गरी खाने कुनै रोजगारीका सिर्जना नभएपछि बालबच्चा पाल्नकै लागी भए पनि भारत धाउनु परेको उनको दुखेसो छ ।

कोरोना सङ्क्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा पुगेको भारतमा कोरोना सङ्क्रमण बढ्ने क्रम रोकिएको छैन । यस्तो समयमा नेपालीहरू भारत जानु झन् जोखिम भए पनि जीवन चलाउन सहज अवस्था नभएपछि उनीहरू ज्यान नै जोखिम राखेर भारत फर्किन लागेका हुन् ।

यस्तै दशै मनाएर भारत जाँदै गरेका बाजुकै अर्का दीपक खत्रीको दुखेसो पनि उस्तै छ ।  गाउँघरमा रोजगारी पाइएन, घरपरिवारको खर्च धान्नका लागि भएपनि तिहारको मुखमा मुगलान जानुपरेकोछ ।’ ‘यहाँ फर्किएपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो । ‘मरे पनि  भारतमै मर्छु,पहिला पनि भारतमै बसेको हुँ, के गर्नु अलिअलि कमाएको पैसा पनि खर्च भयो गुजारा चलाउनका लागि भए पनि तिहारको मुखमा भारत जान लागेकोछु, उनले भने ।’

भारतबाट फर्केका अधिकांश युवाहरूको चाहना स्वदेशमै सीप अनुसारको काम गर्ने थियो । तर,उनीहरूले यहाँ कहिँकतै रोजगारी पाउन सकेनन् । जसका कारण पुरानै नियति व्यहोर्दै कोरोनाकै बिच ज्यान नै बाजीमा राखेर भारततिरै फर्किरहेका छन् ।

रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले मनभारी बनाउँदै गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक हजारौँको सङ्ख्यामा भारत गईरहेका छन् । 


प्रतिकृया दिनुहोस