२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

निर्मला हत्या प्रकरण : डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा

पुनर्वास खबर बिहिबार २९, असोज २०७७ ०५:१९

निर्मला हत्या प्रकरण : डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ।गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो। 

निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए। गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। 

सफाइ पाएसँगै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए। ‘गृहले निलम्बन फुकुवाको चिठी आज पठाएको छ,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने, ‘कानुन शाखाले अब प्रशासनलाई पत्र लेखेपछि उहाँ काममा फर्कनुहुन्छ।’ उनीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने रिटायर्ड भइसकेका छन्। उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने कडायतले बताए। 

केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि खटिएका जिसीलाई तत्कालीन प्रहरी नेतृत्वले यातनापूर्वक बयान गराएको आरोपमा निलम्बन गरेको थियो। तर, अदालतले भने सफाइ दिएको थियो। 

पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे निर्णय मन्त्रिपरिषदले गर्नु पर्ने छ।

फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वत: न्यायका लागि अपिल गर्न सकिन्छ। सामाजिक न्याय र यातना कसुरमा जम्मा आठ जना प्रहरीलाई प्रतिवादी बनाइएको थियो। 

तीमध्ये प्रहरीहरूमा  विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो। 

२०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका-१८ को उखुबारीमा फेला परेको थियो। उक्त बलात्कार-हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।


#कञ्चनपुर

प्रतिकृया दिनुहोस