२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

पुनर्वास खबर सोमबार २९, भदौ २०७७ ०१:१७

पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ  : मुख्यमन्त्री भट्ट

धनगढी । सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाल पत्रकार महासंघ कैलाली शाखाले ध्यानाकर्षण पत्र बुझाएको छ ।

घटना भएको ४ दिन सम्म पनि संलग्नलाई पक्राउ समेत नगरेपछि महासंघले सोमबार मुख्यान्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । मुख्यमन्त्री भट्टले भट्टले ध्यानाकर्षण पत्र बुझ्दै दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्ने व्यक्तिहरुलाई कारवाही हुने बताएका छन्।

सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउँने वित्तिकै आफुले प्रहरी, प्रशासनसंग कुराकानी गरेको बताउँदै घटनामा संलग्नलाई कारवाही हुने आश्वासन दिएका हुन । समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चार गृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन । पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघ आईतबार देखि आन्दोलन जारी राखेको छ ।

महासंघले आन्दोलनको दोस्रो दिन आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना समेत दिएको छ  । आन्दोलन अन्तर्गत भोली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५-२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो। 


प्रतिकृया दिनुहोस