२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

जापानकी नाओमी ओसाकाले जितिन् युएस ओपनको उपाधि थप

एजेन्सी आइतबार २८, भदौ २०७७ ०८:३२

जापानकी नाओमी ओसाकाले जितिन् युएस ओपनको उपाधि थप

जापानकी नाओमी ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाईलाई २–१ को सेटमा पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन्।

गएराति भएको खेलमा पहिलो सेट ६–१ ले हारेकी ओसाका पुनः लयमा फर्किंदै तेस्रो ग्रान्डस्लाम उपाधि जितिन्। उनले त्यसपछिका सेट लगातार ६–३, ६–३ ले जितिन्।

चौँथो वरियता प्राप्त २२ वर्षीया ओसाकाले सेमिफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गरेकी थिइन्। यसअघि उनले सन् २०१८ मा युएस ओपन र २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिइन्।

सन् २०१८ मा उनले अमेरिकी भेट्रान खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनले अहिलेसम्म फाइनलमा पुगेका सबै ग्रान्डस्लाम जितेकी छिन्।

उता ३१ वर्षीया अजरेन्काले भने अमेरिकी भेट्रान सेरेना विलियम्सलाई पराजित गरेर यो वर्षको युएस ओपनको फाइनलमा पुगेकी थिइन्। सन् २०१३ यता उनी पहिलोपटक ग्रान्डस्लामको फाइनल पुगेकी हुन्। तर, पहिलो सेट जितेर पनि उनले खेल गुमाउन पुगिन्।

उनी सन् २०१२ र १३ को फाइनलमा सेरेना विलियम्ससँग पराजित भएकी थिइन्। यसपटक सेरेना विलियम्सलाई २४ औँ ग्रान्डस्लामको कीर्तिमान बराबरी गर्नबाट उनले सेमिफाइनलमै रोके पनि उपाधि भने जितिनन्।


प्रतिकृया दिनुहोस