२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

सभ्यताको मुल मार्ग संस्कृत शिक्षा

पुनर्वास खबर बिहिबार २५, भदौ २०७७ ०८:४०

सभ्यताको मुल मार्ग संस्कृत शिक्षा

नवराज जोशी ।

गौरा विशेष पूजा हाम्रो घरमा सम्पन्न हुँदै थियो। घरका सबै जना एकै ठाउँमा भेला भएर पूजा आजा भइरहेको थियो। पछि प्रसङ्ग बस संस्कृत शिक्षा र अहिलेको आधुनिक शिक्षाको उपयोगिता र यसले दैनिक जीवनयापन र वाक कलामा पार्ने प्रभाव, चैतन्यमा पार्ने प्रभाव, लवजमा ल्याउने भिन्नता र बौद्धिकताको गुणस्तरका लागि कस्को बढी महत्त्व भनेर विश्लेषण हुँदै गर्दा हामी करिब चार पाँच जना दाजुभाइ जो आधुनिक शिक्षा ग्रहण गरिरहेका छौ र एक जना भाइ जो संस्कृत पढिरहेको छ,हो त्यही संस्कृत पढ्ने मानिस नै उत्तम हो भन्ने प्रसङ्ग हामी माझ हाम्रा ठुला बुबाले निकाल्नुभयो। 

करिब ४ या ५ महिना अगाडी म र मेरो साथी बुद्ध आँखा अस्पताल आँखा जाँच गर्न भनेर जाँदै थियौ। संयोग बस मेरो एक जना नातेदार९ बाज्या० सँग भेट भयो। उहाँले चिन्नु भएन तर मैले चिनेर ढोग गरेँ। मैले त चिनेन भनेर उहाँबाट गुनासो आएपछि मैले काँ बाट चिन्नु हौ त बाज्यौ म त ठुलो भइसक्या आजभोलि, तम्ले नान्कै छना देख्या हौ, भनेर मैले जवाफ फर्काएको थिएँ।

त्यो जवाफ उनका लागि गलत, असभ्य लागेछ। यो सभ्यहिन अभिव्यक्तिको गुनासो मेरा ठुला बुबा सँग पोख्नुभएछ कुनै दिन र आज सबै जना जमघट हुने दिन भएका बेला प्रसङ्ग बस यी कुरा उहाँले मलाइ भन्नू भो। म एक आधुनिक शिक्षा ग्रहण गरिरहेको मान्छे हुँ तर भाषा असभ्य भएको तर संस्कृत अध्ययन गरिरहेको भाइले यस्ता किसिमका भाषा कहिल्यै प्रयोग नगरेको कुरा उहाँले मलाइ बताउनुभयो। म झसङ्ग झस्के कि म कति असभ्य र संस्कार हिन रहेछु भन्ने कुरा सम्झना दिलायो यो प्रसङ्गले तसर्थ यो प्रसङ्ग र यो दिन मेरा लागि विशेष र एकदम महत्त्वपूर्ण भयो।

म घरमा पनि कसै सँग बोल्दा सामान्य हिसाबले बोलेपनी प्रसङ्ग बस केही गलत कुरा आयो भने वा कसैले मलाइ मन नपर्ने क्रियाकलाप गर्‍यो भने म झर्केर बोल्छु जस कारण मेरो बोली ठाडो बोली भनेर मलाइ मेरो आमले धेरै दिन भन्नू भएको छ। साथीहरू सङ्ग पनि झर्केर बोलेका घटनाहरू धेरै छन् जस कारण म आफै अपमानित भएको महसुस गर्दै आएको छु।

एक दिन जय आर्यमा एजुकेसन प्रा। लिको संस्थापक मध्यको एक भएको नाताले म रकम उठाउन भनेर कक्षामा प्रवेश गरेको थिएँ। मैले एउटा भाइलाई हल्ला गरिरहेको देख्दा मैले उसलाई के भन्दै छौ भनेर भन्दै थिए त्यत्तिकैमा अर्को भाइ उठेर म सङ्ग बहस गर्न थाल्यो र तपाईँ झर्केर बोल्नुभयो भन्दै गुनासो पोख्यो।

मैले आफूले आफलाइ त्यो दिन निकै गलत रहेको भन्ने महसुस गरेँ। सभ्यहिन भएको महसुस गरेँ। मेरो यो सभ्यहिन प्रवृत्तिले मलाइ त स्वयम असर त गर्छ नै अरुमा पनि नकारात्मकता डेरा जमाउनेमा कुनै शङ्का छैन। यी घटनाहरूले मलाइ सुध्रिने मौका अवश्य दिइरहेका थिए। म एक प्रतिनिधि पात्र हुँ यसको मतलब सबै आधुनिक शिक्षा ग्रहण गरेकाहरूलाई दोष दिन खोजिरहेको छैन।

तर यो सभ्य र असभ्य छुटाउने आधार पनि महत्त्वपूर्ण हो र मेरो कुरा गर्ने हो भने मजाक को सङ्ग गर्ने, को सङ्ग नगर्ने भन्ने प्रसङ्गमा आएको थियो। मैले मजाक त मेरा आदरणीय गुरुहरू सङ्ग पनि प्रसङ्ग बस मजाक गरिएका अनुभवहरू धेरै नै छन्। ठुला बुबाको आधारमा कुरा गर्दा आमाबुवा, गुरु, दाइ दिदी, लगायत आफू भन्दा ठुलाहरू सङ्ग मजाक गर्दा असभ्य भइन्छ भन्ने थियो।

हुन पनि हो बाबुआमा सङ्ग के मजाक गर्नु, गुरुहरूबाट शिक्षा लिने हो मजाक गर्ने होइन, दाइ दिदी सङ्ग टाउको निहुराएर हिड्ने हो मजाक गर्ने होइन, श्रीमती सङ्ग मजाक गर्ने होइन समाजले खिल्ली उडाउँछ अनि भाइबहिनी सङ्ग मजाक गर्नु हुन्न रिसाउनु पर्छ अनि आफू भन्दा टाढा राख्नुपर्छ ताकी उनीहरू डराउन्।

यस्तै छ परिवेश हाम्रो तर मजाक गर्नुपर्छ सीमित घेरा हरू हुन्छन् यसो भनिरहँदा आफू भन्दा ठुलाका अघाढी जे मुखमा आयो त्यो बोल्ने, फोहोर शब्दहरूको प्रयोग गर्ने जस्ता क्रियाकलापहरू एकदमै निषेध गर्न जरुरी छ। मलाइ यसो भनिरहँदा एउटा घटना याद आउँछ।

केही दिन अघाढी गाउँघरमा ४र५ जना विद्यार्थिहरुले आफ्नै गुरुका अघाढी नराम्रा, अपाच्य शब्द प्रयोग गरिरहेको मैले सुनेको थिएँ । यति असभ्य हामी किन भयौंरु भनेर मैले एकचोटी आफैलाई सोधेँ। उत्तर थियो डर हरायो, मानिसमा गलत गर्दा समाजले सजाय दिनुको साटो स सम्मान पुरस्कृत गर्‍यो, संस्कार सिकाउनुको साटो भट्टी पसलको नसा घरमा गएर तोडिन थाल्यो, टुटे फुटे अङ्ग्रेजीमा अपाच्य शब्द सहितका गालिहरूँ प्रयोग हुन थाले।

बिहान उठ्दा ओच्छ्यानमै समाजको विकृत शब्द भण्डारका शब्दहरू सुन्न पाउन थालियो। यस्तो कुरा गरिरहँदा मलाइ एउटा वृद्ध व्यक्तिले भनेको कुरा याद आयो।उहिले हाम्रो जवानामा शिक्षक भने पछि डर मान्थ्यौ। गुरु भनेका भगवान् हुन भनी पुज्थ्यौँ।

सम्मानका साथ हामी नम्र भावमा उभिन्थ्यौ। नियम कानुनको डर हुन्थ्यो, अनुशासन के हो सिकाइन्थ्यो, नैतिक के हो बुझाइन्थ्यो तर आजभोलि घरमा गएर बाबु आम कुट, गाली गर , शिक्षकका घोक्रा समाऊ भनेर सिकाउन थाले कि क्या हो यी मास्टरहरू ! बडो सरल वक्तव्य भएता पनि बडो गम्भीर र महत्त्वपूर्ण अभिव्यक्ति हो यो।

हुन पनि आजभोलि गुरुकै अघाढी बढो सान सँग चुरोट सल्काएर हिड्ने अल्लारेहरू बढ्दै गएका छन्। बाबुआमा कुट्ने बहादुरहरू सलबलाउँदै छन् समाजमा। विद्यालयमा विद्यार्थीहरू जानुको सट्टा भेडाभाख्रा जान थाले, पढ्नका लागि होइन नसाको प्रयोग गरेर विद्यालय प्रवेश गर्न थाले।

गलत गर्दा शिक्षकले सजाय दियो भने घरबाट आगाको मुस्लो लगेर जिउँदै जलाउन तम्सिन्छ आजभोलि हाम्रा समाजका सभ्य व्यक्तित्वहरू। सजाय भन्दा पिट्नै पर्ने सजाय चाहिँ होइन है सम्झाउने, अन्य क्रियाकलाप गर्न लगाउने कार्य गर्दा पनि अहिलेका विकासवादी सोच भएका अभिभावकहरू सजाय दिने शिक्षकलाई लात हान्न तम्सिन्छ।

कहिले काहीँ गलत काम गरिरहेको बेला प्रहरीहरूले समातेर चौकी लगे भने बस त्यो प्रहरीको सरुवा गर्न अनेक किसिमका भेदहरू गर्न खोज्छौ। अनि कता बाट सही बाटो पाउँछ त मानिस ?

रामायणमा भविष्यमा जस्तो सुकै दुख, पिडा, कष्टहरू परे भने सहजपुरमा स्विकार गरी सामना गर्न सकुन् भनी भगवान् राम र भाइ समेत भई बढो कष्ट पूर्ण रूपमा सिकाइ प्रक्रिया अङ्गालेका थिए। फेरि यो उदाहरण दिई रहँदा विद्यार्थिहरुलाइ पेल्नुपर्छ, बढो सकस दिनुपर्छ भन्ने होइन तर अवस्था र विद्यार्थी अनुसारका प्रवृत्तिहरू अवलम्बन गर्नुपर्छ।

सभ्य सिकाइमा अभिभावक, गुरु, समाज, र स्वयम् पनि तत्पर हुनुपर्छ भन्ने मलाइ लाग्छ। अब प्रसङ्गमा उठे अनुसारको शिक्षा प्रणालीको कुरा पनि उत्तिकै जायज छ।आधुनिक शिक्षा एक किसिमको सही हो तर कहि कतै देखिएका प्रवृत्तिहरू गलत छन् तसर्थ सच्याउँदै जानुपर्छ।

अब कुरो रह्यो संस्कृत शिक्षाको, संस्कृत आफैमा विज्ञान हो यो कुरामा कसैको दुइमत छैन तर विज्ञान मात्रै भनेर संस्कृतमाथि अन्याय गर्न पनि मिल्दैन। संस्कृतलाई ज्ञान र विज्ञानको संयोग वा संयोजन भनेर भन्न मिल्छ किनकि संस्कृत भाषाका शब्दहरू उच्चारण गरिरहँदा मनोवृत्ति नै तरङ्गित हुन्छ, एकाग्रता हुन्छ, ध्वनिले गुञ्जायमान हुन्छ जस कारण हाम्रो चञ्चले मन पनि शान्त सङ्ग संस्कृतमा डुब्न थाल्छ अनि बल्ल स्वास्थ्य विज्ञानले भनेको स्वस्थ शरीर ( शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक) को कल्पना गर्न सकिन्छ। अहिले समाज योग गर्नुपर्छ मनको शान्ति प्राप्त गर्नका लागि  भनेर भनिरहेको छ तर संस्कृत भाषामा स्थापना काल देखि नै हाम्रा दैनिक क्रियाकलापहरू तोकिएका छन् जो स्वान्त सुखायस् अर्थात् आन्तरिक सुखमा आधारित छ।

बिहान उठे देखी साँझ सुत्न सम्मका विभिन्न क्रियाकलापहरू तोकिएका छन् संस्कृतमा जसमा जप र ध्यानलाई प्रतिनिधिको रूपमा लिन सकिन्छ र खास गरी जप र ध्यान गर्ने  उत्तम समय बिहान तोकिएको छ। जप गर्दा मन्त्र पनि दिएको छ। नियम अनुसार रुद्राक्षको माला जसमा १०८ गोटी हुन्छन् ती गोटी गन्दै जप गर्नुपर्दछ।

जुन क्रियाकलाप गर्न लगभग १० देखि १५ मिनेट समय लाग्छ जो समय भनेको योगको न्यूनतम मापदण्ड हो। हो यो एउटा प्रतिनिधि हो जसले संस्कृत भित्रको ज्ञानको झल्को दिन्छ। अर्को  वेदको कुरा गरौँ जसमा ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थ वेद हुन्छन् जो विज्ञान सँग सम्बन्धित छन् हो त्यसैले ज्ञान विज्ञानको संयोजन नै संस्कृत हो भन्न सकिन्छ।

तसर्थ यो अति महत्त्वपूर्ण ज्ञानकुञ्जलाइ सिकाइ प्रक्रियाबाट अलग गर्नु हामी सिकारुका लागि दुर्भाग्य हो। तसर्थ यो आधुनिक शिक्षामा पनि संस्कृतको मेल गराएर वा संयोजन गराएर पाठ्यक्रम निर्धारण गर्ने हो भने हाम्रो सिकाइ प्रक्रियालाई सुनमा सुगन्ध हुने कुरामा कुनै आशङ्का वा दुबिधा छैन भनेर प्रस्ट बोल्न सकिन्छ।

यदि यसरी जान सकियो भने सुरुमा भनेको वा मानेको असभ्यलाई हटाउन पनि सकिन्छ। र सुसंस्कृत समाजको निर्माण, आदर्श विचारको उत्पत्ति, मानवतामा उदारता ल्याउन सकिन्छ।

हत्या, हिंसा, अत्याचारमा न्यूनीकरण गर्ने उपयुक्त मार्ग बन्न सक्छ संस्कृत शिक्षा सहितको आधुनिक शिक्षा। उन्नत समाजको परिकल्पना, समुन्नत विचारका आयामहरू विकसित तुल्याउन सकिन्छ। समग्रमा भन्दा संसारको उत्तम विकास , पर्यावरणको महत्त्व, प्रकृतिको सुन्दरतामाथिको दृष्टि मानसपटलमा सङ्गीत बनी गुन्जिरहेको पाउने सकिनेछ।


प्रतिकृया दिनुहोस