२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

कोरोनाको संकटले आत्महत्याको जोखिम बढ्यो

गोपाल ढकाल बिहिबार २५, भदौ २०७७ ०३:५२

कोरोनाको संकटले आत्महत्याको जोखिम बढ्यो

आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष सेक्टेम्वर १०  का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ । यस बर्ष पनि यो दिबसको नारा " आत्महत्या रोकथाममा सबैको सहकार्य" रहेकोछ ।

यो बर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक , आध्यात्मिक, आर्थिक जस्ता सबै पाटोलाई असर पुर्याएकोछ । यसले सबै तह, तप्का, उमेर र समुदायका ब्यक्तिलाई प्रभाव पारेकोछ। यस संकट पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आईरहेकाछन ।

आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन । नेपालमा पनि आत्महत्या पहिला देखि नै जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएकोछ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८-१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार यस बर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कुल संख्या ६२७९ रहेकोछ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेकाछन । अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए। जुन सरदर दैनिक १६ जना पर्न आउछ ।

प्रकृतिक बिपत्ति पर्दा, रोग ब्याधि फैलिदा जस्ता असहज र जोखिम पुर्ण अबस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ । त्यसैले आत्महत्या लकडाउन पछिको मात्र समस्या हो । लकडाउन पछि भयावह भएको छ , पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो ।

लकडाउन भन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन। तर बढदै जाने संकेतहरु भने देखा पर्न थालेकाछन । बालबालिकामा भने यो बिचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ। जुन दुखद हो । आत्महत्या एकदमै संबेदनसिल बिषय हो ।

आत्महत्याको समचारलाई अतिरन्जित र सनसनी पुर्ण बनाउनु हुदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्‍याउछ। डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढछ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो बिश्वकै साझा समस्या हो। विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ ।

एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन्। प्रत्येक वर्ष बिश्वमा सरदर ८ - १० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन ।

यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढि देखिन्छ ।

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोहि ब्यक्ती आत्महत्या गरेर आफ्नो जिवन आफै समाप्त पार्न खोज्छन ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि ब्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । उ चरम निरासामा डुबेको हुनसक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो ।

क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ । व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ । धेरै जस्तो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

जसरी कुनै कुनै शारीरिक रोगमा केही ब्यक्तिहरु उच्च जोखिमा हुन्छ । त्यसै गरि केही ब्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केहि उच्च जोखिममा हुन सक्छन । जस्तो मानसिक रोग डिप्रेसनमा रहेको , कुनै दुखद घटनाले धेरै प्रभावित, पटक पटक आत्महत्याको प्रयास गरेको, तनाब पुर्ण पेशामा भएकाहरु, पारिबारिक झै - झगडा , आर्थिक संकट भएका, बिरोजगार , लाँगू प्रदार्थक कुलतमा फसेका आदि ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्ब जन्मको पाप र अपराध ठान्छ । देबि देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ ।

आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनु सक्छ।

त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ , मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ ।

जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ ।

यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

यहाँहरुमा पनि कुनै किसिमको मानसिक समस्या, आत्महत्याको सोच वा प्रयास जस्ता समस्या भएमा सहयोगका लागि निर्धक्क फोन मार्फत मनोपरामर्श सेवा लिन सक्नु हुनेछ । जसका लागि फोन न : ९८१३५२७७३२ चौबीसै घण्टा खुला रहनेछ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)


प्रतिकृया दिनुहोस