२०७७ असोज ०८ गते बिहिबार | 24 September, 2020

कोरोनाले बिद्यालयनै बन्द भएपछि व्यवसायमा जम्दै शिक्षक

वीरबहादुर सिहँ शनिबार २०, भदौ २०७७ ०५:४८

कोरोनाले बिद्यालयनै बन्द भएपछि व्यवसायमा जम्दै शिक्षक

कञ्चनपुर । विश्वनै कोरोनाले आतङ्कित बनेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । कोरोनाका कारण हजारौ व्यक्तिको रोजगारी गुमेको छ भने व्यापार,व्यवसाय ठप्प छन् ।

यसरी कोरोनाको कारणले विद्यालयहरू समेत ठप्प हुँदा विद्यालयका सञ्चालकहरू समेत यसको प्रत्यक्ष असरमा परेका छन् । लामो समय देखि विद्यालयनै  बन्द भएपछि अहिले घर व्यवहार चलाउन वैकल्पिक व्यवसाय सुरु गर्न थालेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर –८ ‘क’ गाउँका पुष्पराज ओझा एक विद्यालयका सञ्चालक हुन । अहिले विद्यालय नै बन्द भएपछि उनले अहिले कुखुरा पालन व्यवसायी सुरु गरेका छन् ।

वडा नम्बर –८ मै २०६६ देखि श्री अलङ्कार पब्लिक स्कुल सञ्चालन गर्दै आएका उनले अहिले अरू विकल्प नपाएपछि यो व्यवसायमा लागेको बताएका छन् । ‘लामो समयदेखि विद्यालय बन्द हुँदा घर खर्च समेत चलाउन धौ-धौ भएपछि वैकल्पिक व्यवसाय सुरु गरेको हुँ’ओझाले भने, ‘साउनमा पहिलो लटमा १ हजार ब्रोइलर कुखुरा हालेको हुँ, फार्म दर्ता गरेर यहि व्यवसायलाई निरन्तरता दिने सोचमा पुगेको छु ।’

साढे ३ सय विद्यार्थी रहेको उनको विद्यालयमा १६ जना शिक्षकले समेत रोजगारी पाएका थिए । अहिले यहि कोरोनाकै कारण सबैको रोजगारी गुमेको छ भने तिन सय बालबालिकै पढाइमा समेत असर परेको छ ।

यस्तै २०४४ साल देखि सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका पुनर्वास नगरपालिका १० का शेर बहादुर बिक पनि कुखुरा व्यवसायमा लागेका छन्  । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको विजय मावि मा अध्यापन गराउँदै आएका उनी   पनि  कुखुरा व्यवसायमा लागेका छन् ।

घर खर्च चलाउने आर्थिक बाटो विद्यालय भएकोले अहिले विद्यालय नै ठप्प  हुँदा यो व्यवसायमा लागेको छु , विकले भने, ‘विद्यालय कहिले खुल्छ थाहा छैन , फेरी तत्काल विद्यालय खुल्ने सम्भावना पनि छैन।’ अहिले विद्यालय बन्द हुँदा अरू कुनै विकल्प नभएपछि आफ्नै क्षेत्रमा केहि गर्नुपर्छ भन्ने सोचका साथ यसलाई निरन्तरता दिने उनको पनि सोच छ ।

यसरी एक एक फैलिएको कोरोना भाइरसले गर्दा उनको मात्रै होइन उनी जस्तै हजारौ व्यक्तिको अवस्था नाजुक बनेको छ ।  यसरी लामो समय देखि  विद्यालय बन्द नै भएपछि बिद्यालयका सञ्चालकहरु पनि वैकल्पिक व्यवसायतिर लाग्न थालेका छन्।
 



#कञ्चनपुर

प्रतिकृया दिनुहोस