२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

धर्मानन्द भट्टका चार ‘गजल ’

पुनर्वास खबर शनिबार २०, भदौ २०७७ ०५:२४

धर्मानन्द भट्टका चार ‘गजल ’

लामो कपाल अनि झुस्स दारी बोकेर।
लाग्छ बाँचीरहेछ पीरको भारी बोकेर।
अब बुझ्यो उसले अस्लियत दुनियाँको,
कति गाह्रो छ बाँच्न इमानदारी बोकेर।
औकात अनुसार अवसर पाइन्छ यहाँ,
जानू पर्छ कि सुटकेस कि सारी बोकेर।
देशमा क्रान्ति गरी ल्याएको गणतन्त्रले, 
सङ्गै ल्याएछ नि सामन्त सवारी बोकेर।
तिम्रो गन्तव्य खाडी नै हो कमाउ मित्र,
जाउ बन्दकी राख त्यो खेतबारी बोकेर।

*****
इतिहास हेर्नूस बिखण्डन अनि टुट फुट छ।
आज पनि हेर्नु ब्यक्ती पिच्छे अलग गुट छ।
जो शक्तिमा छ बलियो गुटको मालिक हेर्नू
उसलाई नेपालमा जे गरे हुन्छ सब छुट छ।
बिचरा दिन भरी काम गर्छ पेट भर्न सक्दैन
केही काम गर्दैन उसैको लाउन टाइ सुट छ।
कानुन साच्चै अन्धो नै हुदो रहेछ भन्ने बुझे
नत्र किन देख्दैन होला चारैतिर लुटैलुट छ।
सबको चाहना पुजिबाद हो कमाउने मात्रै 
यो साम्यवाद त वायात भाषण हो झुट छ।
बिचरा जनता मूर्ख भन्नू कि सोझा बनेका
सहन्छ बज्रेको शिरमा शासकको बुट छ।

*****
सायद मैले पनि त्यसो गर्न सकेको भए।
कुनै बहानाले नजिक सर्न सकेको भए।
लाग्छ केही त जरुर प्राप्ती हुन्थ्यो होला,
भजन गर्दै शरण तिम्रो पर्न सकेको भए।
इमान बेचेर पेट पाल्न मनले मानेन मेरो,
जाती हुन्थ्यो तिमी झै झर्न सकेको भए।
तिमी नि आफन्त जस्तै ठान्थ्यौ होला खै,
बैमानी गरी गोजी तिम्रा भर्न सकेको भए।
भोको पेट बस्नेको त तिमीलाई चिन्ता छैन
चिन्ता आफन्तलाई दाना छर्न सकेको भए।

*****
ऊ मन्दिर गयो र फर्कियो पूजेर पत्थर किन होला ?
देखेन ढोकामै बसेका बुढा बा अक्सर किन होला ?
जसले सबैभन्दा बढी गल्ती र भ्रष्टाचार गर्छ उसैले,
गर्छ प्रगति र उन्नति यो देशमा निरन्तर किन होला?
अमेरिकी राष्ट्रपतीले छोरी पढाउन सकेनछ बिचरा ,
हाम्राले खान-दान धानेकै छन सकभर किन होला?
बिचरा जसले दुनियाँको लागि बाली उब्जाइ रह्यो,
आफू भने भोकै बस्न बाध्य छ हर प्रहर किन होला?
जुन देशको लागि छोरा हाँसी-हाँसी मर्न तयार भयो,
त्यहीँ देशमा नि बा-आमाको आँसु बर्बर किन होला?

✍️
धर्मानन्द भट्ट
महेन्द्रनगर, कञ्चनपुर


प्रतिकृया दिनुहोस