२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

‘मेरा सपनाहरु’

पुनर्वास खबर सोमबार ०५, साउन २०७७ ०२:२०

‘मेरा सपनाहरु’

बा !
तिम्रो
च्यातिएको दाउरा 
छिट्टै फेरिदिने
सपना उहिले देखिको हो ।

आमा !
तिम्रो 
टालै टालाले भरिएको
पुरानो ,मैलो चोलो फालेर
पल्ला घरे माइलि काकिको जस्तै
फुलबुट्टे चोलो किनिदिने
सपना पनि उहिले देखिको हो ।

सानि !
बहिनीले
साहु बाकि छोरीको जस्तै
बुट्टे फरिया लगाउने
रहर गर्न थालेको पनि बर्सौ भएछ ।

मेरो मन भित्र
आशाको दियो मात्रै बलिरहन्छ 
न सपनाहरुले साकार रुप लिन्छ्न
न सपनाहरु देख्न छोडिन्छ्न 
मन मनै आफ्नै मन सङ्ग 
दुखेसो पोख्छु अनि लाग्न थाल्छ
अँ ! साच्ची 
अब त सपनाहरु पनि आफै देखि 
गिज्जिदा हुन है !

मैले
न महलको बास बस्ने सपना देखे !
न आरामदायी सफरको सपना देखे !

आमाका गहना बन्धकि राखेर
आमाले पुरानो धोतिको 
कुनामा पोखिन्छ्की भनेर
गाठै गाठा पारेर
बाधिदिनु भएको
दुई छाक पुग्ने सामल सङ्गै
सपनाको बडेमान भारी बोकेर 
सहर पड्न छिरेको थिए !
तर
सहरले मलाई सर्टिफिकेटको
भारी बोकाएर गाउँ फर्कायो ।

जागिर पाउन
न कसैको खुट्टा मालिस गर्न सकियो
न पैसा पेल्न सकियो
न नेतागिरी गर्न सकियो
न दादागिरी गर्न सकियो
न आफ्ना हरुले हेरे
न पाराया हरुले दया गरे ।
र 
लामो श्वास फेर्दै
हात भरी सर्टिफिकेटहरु बोकेर
फेरि सपनाहरु केलाउदै
गाउँ फर्किए ।

आजभोली म !
हर दिन 
मेरो चुहिने घरको 
अधेरो कुनामा
खुब जतनका साथ राखिएको
धुवाँलोले स्वरुप परिवर्तन गरेको 
कालो काठे बाकस भित्रका
मेरा सर्टिफिकेटहरु
सुम्सुम्याउदै 
घरको बार्दली बाट
सहर गएको बाटो हेर्दै
फेरि,
सपनाहरु सजाउन थाल्छु ।

लेखक  : अनिश धामी, गौरिगङ्गा न.पा. ११ मोतिचोक
            


प्रतिकृया दिनुहोस