२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

धनगढी – कैलारी जोडने सडक जीर्ण बन्दै

पवन भण्डारी आइतबार ०४, साउन २०७७ ०२:०५

धनगढी – कैलारी जोडने सडक जीर्ण बन्दै

धनगढी । कैलालीको धनगढी देखि कैलारी गाउँपालिका सम्म रहेको हुलाकी सडक खण्डमा ठाउँ ठाउँमा खाल्डा खुल्डी पर्दा यातायात सञ्चालनमा निकै समस्या हुने गरेको छ ।

कालो पत्रे गरेको पाँच बर्षमै सडकमा ठुला ठुला खाल्डा खुल्डीहरु परेपछि  सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढ्न थालेको हो । करिब पौने ४ मिटर मात्र चौडाइ रहेको सडक एक त साँघुरो अर्को ठाउँ ठाउँमा खाल्डा खुल्डी परेपछि सवारी साधन चलाउन निकै समस्या हुने गरेको सवारी चालकहरूको गुनासो छ।

सडकमा भएका खाल्डा खुल्डीहरुले गर्दा थुप्रै दुर्घटनाहरू भएको सडकमा निरन्तर रूपमा अटो चलाई रहनु भएका विष्णु विकले बताए । उनले   सडकको अवस्था यस्तो छ मर्मत का लागी कसैले चासो लिँदैन यसले गर्दा आम नागरिकले सास्ती खेपिरहँदा पनि सरकार मौन बसेको बताए ।

कैलाली  गाउँपालिका सम्म निरन्तर रूपमा सवारी चलाउँदा सवारी बिग्रने समस्या पनि झनै बढ्न थालेको सवारी चालकहरूले बताएका छन् ।

बाटोमा ठाउँ ठाउँमा खाल्डा खुल्डी र खुल्ला  रूपमा छोडिएका पशुचौपायहरुले  दुर्घटना को जोखिम बढी रहेको छ । स्थानीय नागरिकहरूले भने सडक ५ वर्षमै भत्कन सुरु भएपछि सडक निर्माणको ठेक्का लिएको पुरानो कन्ट्रक्सनले सडक पिचमा बदमासी गरेको हुन सक्ने  आशंका गर्न थालेका छन् ।

तर हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले भने तत्कालका लागी निर्माण कम्पनी लाई मर्मत गर्न लगाउने जनाएको छ । कालीका जोशी कन्ट्रक्सन सँग ठेक्का सम्झौता भइसकेको र सडक मर्मतको कार्य समेत कन्ट्रक्सन ले गर्ने हुलाकी सडक राजमार्ग आयोजना योजना कार्यालय धनगढीका योजना प्रमुख राम पुकार जयसवालले बताए ।

उनले पुरानो पिच धेरै मा ५ वर्ष भन्दा बढी नटिक्ने बताउँदै तत्कालका लागी मर्मत गर्ने र सँग सँगै सडक बिस्तारको काम समेत अगाडि बढाउने बताए ।

नयाँ आर्थिक वर्षमा ७ मिटर चौडाइको सडक निर्माणका लागी कालीका जोशी कन्ट्रक्सन ठेक्का सम्झौता भइसकेको र अब सर्बेको काम सडक बिस्तारको काम अगाडि बढ्ने योजना कार्यालयले जनाएको छ ।  



#कैलाली

प्रतिकृया दिनुहोस