२०७७ साउन ३० गते शुक्रबार | 14 August, 2020

पुनर्वासको कथा–व्यथा

पुनर्वास खबर सोमबार २६, जेठ २०७७ १०:१५

पुनर्वासको कथा–व्यथा

रत्न प्रजापति ‘कञ्चनपुरको ५० बिघा भूभाग भारततिर’ । फागुन ३० गते शुक्रबार एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारको शीर्षक हो यो । यस्तो समस्या नेपाल–भारत सीमामा वर्षौंदेखि दोहोरिँदै आएको छ । सन् १९६२ मा कालापानीमा भारतले आफ्नो सेना तैनाथ गरेदेखि सीमा समस्या बढेको भनिँदै आएको छ । अहिलेसम्म भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ स्थानमा भारतले अहिलेसम्म नेपालको करिब ६० हजार ६०० हेक्टर भूमि अतिक्रमण गरिसकेको तथ्याङ्क छ ।

यसैगरी सीमापारिबाट आउने भारतीय सेना, प्रहरी, गस्तीटोली, चोर, डाँका र गुन्डाबाट सिमानाका नेपाली वासिन्दा कुटिने, पिटिने, लुटिने, बलात्कृत हुने र मारिने अनगिन्ती घटना पनि भएका छन् र भइरहेका छन् । अझै पनि समयसमयमा भारतले सीमास्तम्भ (पिल्लर) नेपालतिर सार्दै आइरहेको छ । उल्लेखित समाचार पछिल्लो घटना हो । यस्तै सीमासमस्या र सीमापारिबाट आउने भारतीय सेना, प्रहरी, गस्ती टोलीलगायत चोर, डाँका र गुन्डाबाट निरन्तर पीडित छन् सिमानाका वासिन्दा । यस्तै समस्यामाथि केन्द्रित भएर लेखिएको एउटा गहकिलो उपन्यास हो ‘पुनर्वास’ ।

उपन्यासकै शब्द सापटी लिएर भन्नुपर्दा देशका लागि, सीमाका लागि आफ्नो गुमेको माटोका लागि राजा महेन्द्रले पुनः बसोबास गर्ने ठाउँको नाम पुनर्वास राखेका थिए । भारतका तर्फबाट सीमाका पिल्लर सार्ने तथा तराईमा बस्ने राना तथा चौधरीहरूको घरमा गई लुटपाट मच्चाउने, दिउँसो गाई, गोरु, भैंसी, बाख्रा, खसी, कुखुरा लुट्ने, लाने, आइमाई र चेलीहरूलाई बलात्कार गर्ने घटना पटकपटक दोहोरिएपछि देश, सीमा, माटो, जङ्गल र ती निरीहको रक्षाका लागि पुनर्वासको कल्पना गरिएको हो ।

जति ठाउँमा पुनर्वास खोलियो, सीमामा र जङ्गलमै सुरक्षाका लागि बस्ती बसालियो । सबै पुनर्वासको कथा उस्तै छ – पुनर्वास चाहे कञ्चनपुरको होस्, चाहे कैलालीको किन नहोस्, चाहे बाँके, बर्दिया र त्यसभन्दा पूर्वका किन नहुन् । ‘पुनर्वास’ उपन्यास तिनै पुनर्वासहरूको साझा कथा हो । साझा व्यथा हो । अनि प्रारब्धले लखेटिएको र ठगिएको हरेरामको कथा हो । त्योभन्दा पनि बढीचाहिँ सीमापारिबाट हुने ज्यादतीबाट पीडित पुनर्वासवासीको कथा हो ।

साहित्य सिर्जनासँगसँगै समाजेवामा समेत सक्रिय सर्वज्ञ वाग्ले हाल गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष हुन् । उनका चारवटा कृति यसअघि नै प्रकाशित भइसकेका छन् – ‘क्यासिनो’ र ‘युधिष्ठिर’ कथासङ्ग्रह अनि ‘जुवाघर’ र ‘साँढे’ हास्यव्यङ्ग्यसङ्ग्रह । ‘पुनर्वास’ उपन्याससम्म आइपुग्दा उनको लेखन निकै खारिएको अनुभव हुन्छ । नेपालको राजनीतिकवृत्त र आमसर्वसाधारणको समेत निकै चासो र चिन्ताको विषय बन्दै आएको सीमासमस्याको विषयलार्ई उनले उपन्यासमा गम्भीररूपमा उठान गरेका छन् । सीमासमस्याको विषयमा लड्दालड्दै वीरगति प्राप्त गरेका गोविन्द गौतमको नायकत्वदेखि देश, समाज, जातभात र जुवासम्मको पराकाष्टालाई उपन्यासमा आख्यानीकरण गरेका छन् ।

सर्वज्ञ वाग्लेको मानसपटलमा ४० वर्ष अगाडि सलबलाएको तरङ्गले किनार भेट्टाएको छ ‘पुनर्वास’ मा । सीमामा बसेर सीमापारिका प्रतिगामी तत्वहरूको प्रहार झेल्न पुनर्वास दशकौंदेखि पहाड भई उभिएको कथा उतारिएको छ ‘पुनर्वास’ मा । आफ्नो भूमिको मायाले शत्रुसँग लड्न निर्भिक भएर जुर्मुराउने पुनर्वासका वासिन्दाको भूमिप्रतिको माया, प्रेम र श्रद्धा छताछुल्ल भएर पोखिएको छ । आफ्नो भूमिलाई माया गर्न र भूमिको रक्षार्थ जीवन उत्सर्ग गर्न प्रेरणा दिन्छ ‘पुनर्वास’ उपन्यासले ।

राज्यले राजनीतिक तहमा गम्भीरतासाथ उठान गर्नुपर्ने विषयलाई उपन्यासकारले उठान गरेका छन् र नागरिक हुनुको दायित्व निर्वाह गरेका छन् । यसो त उनी प्रवासी नेपाली हुन् । तर नेपाली हुनुको धर्म निर्वाह गर्न उनी चुकेका छैनन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सुगौली सन्धिपछि गुमेको भूमि नेपालले फिर्ता पाउनुपर्ने जिकिरसमेत गरेका छन् । त्यसैले सामाजिक यथार्थवादमा आधारित उपन्यास भइकन पनि राजनीतिक चेत प्रबल रहेको महसुस हुन्छ । हरेक नागरिकमा यस्तो चेत हुनु आवश्यक छ भन्ने सन्देश उपन्यासले दिन्छ ।

राज्यले राजनीतिक तहमा गम्भीरतासाथ उठान गर्नुपर्ने विषयलाई उपन्यासकारले उठान गरेका छन् र नागरिक हुनुको दायित्व निर्वाह गरेका छन् । यसो त उनी प्रवासी नेपाली हुन् । तर नेपाली हुनुको धर्म निर्वाह गर्न उनी चुकेका छैनन् ।

जुवामा हरेरामले घर नै हार्छ । घर हारेको हरेरामले सात दिनमा घर छोड्छु भन्छ । तर दुई दिनमै घर छोडेर ऊ सपरिवार गाउँबाट अलप हुन्छ ।

जुवामा हरेरामको घर जितेको थियो सीतारामले । हरेरामले घर खाली गराए कि गराएन भनेर सोध्छ अमरसिंहले । दुई दिन त बित्यो । अझै पाँच दिन बाँकी नै छ भन्छ सीतारामले । ‘आफूले जितिसकेपछि केका सात दिन कुर्नुपर्यो’ भनेर सम्झाउँछ अमरसिंहले । अनि त्यही दिन सीताराम, अमरसिंह र राधेश्यामलगायत अन्य केही मानिस हरेरामको घरतिर जान्छन् । हरेरामको घर खाली देखेर सबै अचम्ममा पर्छन् । हरेरामले घरभित्र सन्दुसमा घरजग्गाको लालपूर्जासँगै एउटा डायरी छोडेको हुन्छ । त्यो डायरीको पहिलो पानामै लेखिएको हुन्छ – पुनर्वास । हो, यहीबाट सुरु हुन्छ पुनर्वास उपन्यासको वास्तविक कथा ।

जुवामा घरै हारेको हरेरामको दुखी कथाबाट सुरु भएको उपन्यास सीमा रक्षाको लागि लड्ने क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएपछि रणप्रतापको अगुवाईमा भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध लडाइँ लड्नका लागि ‘हाम्रो माटो जिन्दावाद, हाम्रो भूमि जिन्दावाद ….. नेपाल आमा जिन्दावाद’ को नारा लाउँदै सिमानातर्फ अघि बढेको प्रसङ्गमा आएर टुङ्गिएको छ । २०७३ साल फागुन २६ गते सीमा रक्षाकै क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) द्वारा गोविन्द गौतम मारिएका थिए । पछि उनलाई सरकारले सहिद घोषणा गरेको थियो । भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध बर्दीका सिपाहीँले मौनता साँधेको अवस्थामा बिना बर्दीको सिपाहीँ बनेर गोविन्द गौतमले सीमारक्षाका लागि लडेका थिए ।

‘पुनर्वास’ उपन्यासको यो पहिलो भाग हो । दोस्रो भाग चाँडै आउने जानकारी समेत उपन्यासको अन्त्यमा दिइएको छ । यसको अर्थ सीमाको लडाइँ अझै जारी छ भनेर बुझ्न सकिन्छ ।

उपन्यासमा संवेदनाको पक्ष निकै प्रबल छ । उपन्यासभरि पाठकलाई संवेदित बनाउने र मुटु ढक्क बनाउने धेरै पाटाहरू छन् । हरेरामले जुवामा घर हारेर पुनर्वासको आफ्नो घरवासै छोडेर हिँड्दाको क्षण पाठकको मुटु ढक्क फुल्छ भारी संवेदनाले । गन्तब्यबिना बिहानीको पर्खाइमा लुखुरलुखुर हिँडिरहेका हरेरामका परिवारको टिठलाग्दो दृश्य पाठकको आँखामा घुमिरहन्छ वरिपरि । मनमा नमीठोसित खुल्ल हुन्छ । जुवाले हरेरामलाई घरवारविहीन बनाएको घटनाले उपन्यासको सुरुमै जुवा खराब लत हो भन्ने सन्देश दिन्छ । तर लोग्नेले जुवामा घरै हार्दा पनि चुँक्क नबोल्ने कति सुधी हरेरामकी श्रीमती ? पुरुषसत्ताको दमनले त होइन ? पाठकको मनमा यस्तो प्रश्न उठ्नसक्छ ।

लोग्नेले जुवामा घरै हार्दा पनि चुँक्क नबोल्ने कति सुधी हरेरामकी श्रीमती ? पुरुषसत्ताको दमनले त होइन ? पाठकको मनमा यस्तो प्रश्न उठ्नसक्छ ।

‘आज पनि गाउँमा सिमानापारिको बुटले परेड खेलेछ ।’ काव्यिक अभिव्यक्ति सुन्दर छ । गाउँमा रातभर कुकुर भुक्छन् । सीमा परिबाट मान्छे आएर सीमाको पिल्लर सार्छन् । नेपालको भूमि भारततिर पार्छन् । भारतीय प्रहरी, सेना र गस्ती टोलीसित नेपाली जनता लड्छन्, भिड्छन् सीमाको रक्षाको लागि । तर नेपाली सेना र प्रहरी मूकदर्शक भएर बस्छन् । यो लाछीपन निकै उदेकलाग्दो छ ।

सामाजिक उपन्यास भएर पनि राजनीतिक चेतले भरिपूर्ण छ । सीमापारिबाट हुने अन्याय र अत्याचारप्रतिको विद्रोहको आवाज हो ‘पुनर्वास’ । गरिबी, दुख, पीडा, सङ्घर्ष र विद्रोहको संयुक्त दस्तावेज पनि हो ‘पुनर्वास’ । पुनर्वासको मात्रै नभई ग्रेटर नेपाल, लिपुलेक, लिम्यिाधुरालगायतको नेपालले गुमाएको भूमिलाई समेटेर यो उपन्यास लेखिएको छ । सीमा, जूवा, देश, समाज र जातभातको वर्षौंदेखिको कुरीति, अन्याय र अत्याचारको पराकाष्ठालाई उपन्यासमार्फत् उजागर गर्ने प्रयास गरेका छन् उपन्यासकार सर्वज्ञ वाग्लेले । अहिले पनि सीमामा भारतीय ज्यादती उस्तै छ । कुटपिट, लुटपाट, हत्या, बलात्कार आदि पहिले हुन्थ्यो र अहिले पनि भइरहेकै छ । भारतबाट आउने चोर, डाँका, गुन्डाले दुख दिने । उतैका सेना, प्रहरी र गस्ती टोलीले दुख दिने । यस्तो ज्यादतीबाट पीडित छन् सीमावासी हजारौं नेपाली नागरिक । तिनै नागरिकहरूको दुख, पीडा, व्यथा र वेदनाको आवाज हो यो उपन्यास ।

सीमावासी नेपाली नागरिकको दुख, पीडा, व्यथा र वेदना सुन्न, बुझ्न र त्यसको समाधान गर्न राज्यका कुनै निकाय गम्भीर नभएको अवस्थामा एउटा लेखकले असल नागरिकको हैसियतले यो विषयको उठान गरी राज्यलाई घचघच्याउने प्रयास गरेका छन् । सीमामा राज्यको उपस्थिति छैन । सेना र प्रहरीको साथ र सहयोग छैन । जनप्रतिनिधिहरूले बेवास्ता गरेका छन् । तैपनि त्यहाँका नागरिकहरू आफैं आफ्नै तरहले न्यायका लागि लडिरहेका छन् । नागरिकलाई थप चेतनशील बनाउन र राज्यलाई समस्या समाधानमा कूटनीतिक तवरमै पहल गर्न यो उपन्यासले अवश्य घचघच्याउनेछ ।

समयको सन्नाटाले छातीमा पहिरो गएका भुइँमान्छेहरू । जसको आवाज सुन्न तम्तयार कानहरूको अभाव छ राज्यमा । पुनर्वासका वासिन्दाहरू के नै गर्न सक्छन् र ! पुनर्वासका वासिन्दासँग त केवल बचेखुचेको मानवीय संवेदना छन् । संवेदनाको आँसुले भिज्दैभिज्दै यहाँको माटो ओसिलो भएको छ । र, पुनर्वासका वासिन्दाहरू ओस्याइलो काइ परेको सेपिलो मनलाई धीत मरुन्जेल सेक्न, सेकाउन मिल्ने एउटा उज्यालो र न्यानो घामको प्रतीक्षा गरिरहेका छन् । सरकार, अब त बुझिदेऊ पुनर्वासका ती दुखी र पीडित वासिन्दाहरूको दुख, पीडा, व्यथा र वेदना ! यस्तै भन्न कर लाग्छ उपन्यास पढिसकेपछि ।

सरकार, अब त बुझिदेऊ पुनर्वासका ती दुखी र पीडित वासिन्दाहरूको दुख, पीडा, व्यथा र वेदना ! यस्तै भन्न कर लाग्छ उपन्यास पढिसकेपछि ।

उपन्यासमा साहित्यिक सौन्दर्य भरपूर छ । थोरै नै भए पनि यौनको संवेग पनि छ । भुनियाको सौन्दर्यप्रतिको आकर्षण यौनको आकर्षण नै हो भन्न सकिन्छ । मानिसको आधारभूत आवश्यकता पनि त हो यौन । त्यही आवश्यकताको रूपमा आएको छ यौनसन्दर्भ यो उपन्यासमा । यौन–सौन्दर्यले उपन्यासको सौन्दर्य बढाउन मद्दत गरेको छ ।

‘म जन्मँदा आकाशको छातीमा बादलका धर्साहरू के कति थिए होलान् ? धर्तीमा नयाँ मान्छेको आगमन हुँदा पश्चिमको पहाडमा घामको पहेँलो लाली कस्तो देखियो होला…..?’ (पृष्ठ २१) लेखकको कल्पनाशक्ति बेजोड लाग्छ । उपन्यासको कथानक सशक्त छ । नेपाली समाजको यथार्थ चित्रण भएको छ । प्रस्तुति सुरुचिपूर्ण छ । तर चरित्रको चित्रण कमजोर छ । उपन्यासकारको ध्यान कथामै केन्द्रित भएको भान हुन्छ । कथानकमात्रै सशक्त भएर अघि बढेको छ ।

उपन्यासको अध्याय १९ ले पाठकलाई पट्यार लगाउन सक्छ । सललल बगिरहेको उपन्यासमा झन्डै १२ पेजको आर्थिक निबन्ध जस्तो लामो व्याख्यानले उपन्यासको मीठो क्रमबद्धतालाई नै खलबल्याएको महसुस हुन्छ ।

भारतीय सेना, प्रहरी र गस्ती टोलीको ज्यादतीविरुद्ध लड्न तयार धनिया, नर्स शान्ता र अहेव आइतबहादुरको साहस कदरयोग्य छ । तिनको आगमन भोकाहरूका लागि भोजन, प्यासीहरूका लागि पानी, पाइलाहरूका लागि गोरेटो, यात्रीहरूका लागि गन्तव्य, भरियाहरूका लागि चौतारी र चराहरूका लागि वसन्तजस्तै सुन्दर छन् ।

‘पुनर्वासमा बसेर सङ्घर्ष गर्नेहरू सबैका आआफ्ना दुख छँदै छन् । व्यक्तिगत दुख त जेनतेन आशा र उज्यालो भविष्य कल्पेर पनि सहन सकिन्छ । तर, देशको दुख, सिमानको दुख सहन सार्है गार्हो हुँदो रहेछ ।’ (पृष्ठ १३९) अति सुन्दर र मननयोग्य अभिव्यक्ति ।

उपन्यासमा प्रकृतिले दिएको सुन्दर उपहारलाई पनि राम्ररी उपयोग गर्न नजानेको चिन्ता छ । आफ्नै नाममा जग्गाको पूर्जा पाउने आशामा बसेका सुकुम्बासीहरूको सपना पनि छ ।

जुवा व्यवसायी रणप्रतापलाई केही हदसम्म खराब चरित्रको रूपमा चित्रण गरिएको छ । तर दुर्घटनामा छोरा, छोरी र श्रीमतीको निधन भएपछि र उनलाई नर्स शान्ताले आफ्नो रगत दिएर बचाएपछि उनी सुध्रिन्छन् । राजाको अहम् छोडेर पुनर्वासका वासिन्दाको दुखसुखमा साथ दिन थाल्छन् । यतिसम्मकी पुनर्वासका राजाका रूपमा परिचित रणप्रतापले आफूले छोरी मानेकी नर्स शान्ता नेपालीको अहेव आइतबहादुर विश्वकर्मासित बिहे गरिदिएर सामाजिक सुधार र परिवर्तनको उदाहरण पनि प्रस्तुत गर्छन् । अनि त्यो विवाहमा संसारभरकै वादहरूको पनि वाद मानवतावाद एकीकृत भएर मुसुक्क मुस्कुराएको आभास हुन्छ ।

वर्षौंसम्म क्यासिनोमा काम गरेका उपन्यासकार वाग्लेको क्यासिनो अनुभव पनि उपन्यासमा राम्रैसँग पोखिएको छ । सर्वसाधारणलाई थाहा नभएका क्यासिनोमा चल्ने प्राविधिक शब्दहरूको प्रयोग उपन्यासमा भएको छ । जस्तैः चिप्स, स्लोट मेसिन, रुलेट, क्रुपियर, रुलेटको ह्विल, स्पिन, किट्टी, पोन्टोन, ब्ल्याक ज्याक, बाक्रा, बैंकर, प्लेयर, पप्लु, बेट, पोकर, फ्लस आदि ।

सीमा मिचिएको विषयमा राज्यसँग नभएको तथ्याङ्कीय विवरण यो उपन्यासमा समेटिएको छ, जुन गोविन्द गौतमले पुनर्वासका वासिन्दाका अगाडि गरेको भाषणमा उल्लेख छन् । यसबाट तथ्यको खोजी र अनुसन्धान गरेर यो उपन्यास लेखिएको मान्न सकिन्छ । कल्पनाभन्दा यथार्थमा आधारित उपन्यासलाई पाठकले सहर्ष स्वीकार्ने छन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

“पुस्तक : पुनर्वास
विधा : उपन्यास
लेखक : सर्वज्ञ वाग्ले
प्रकाशक : शिखा बुक्स
संस्करण : २०७६ माघ
पृष्ठ : २००
मूल्य : रु. ३७५।”

( साभार साहित्य पोष्टवाट )


प्रतिकृया दिनुहोस