२०७७ साउन २५ गते आइतबार | 9 August, 2020

कोरोना भाइरस भन्दा त्रासको भाइरस झन् खतरनाक

तिलक बहादुर बम बिहिबार १५, जेठ २०७७ १०:५५

कोरोना भाइरस भन्दा त्रासको भाइरस झन् खतरनाक

एक पटक यमराजले आफ्ना दूत लाई पृथ्वी लोकमा आयु पुगेका मानिसलाई लिएर आउन आदेश दिएछन् । यमराजको आज्ञा मुताबिक दूतहरू एउटा गाउँमा पसेछन् । गाउँमा पस्न लागेका ती दूतहरूलाई  एक जना साधुले देखेछन् र सोधेछन् तिमीहरू को हौ ? यो गाउँमा किन आयौ ? साधुको प्रश्नको जवाफमा ती दूतहरूले भने यो गाउँमा ४ जना आयु पुगेका मानिस छन् उनीहरू लाई लिन आएका हौ।

यमराजका दूतहरू गाउँमा आएको खबर एक कान दुई कान हुँदै गाउँभरि फैलिसकेको थियो । मानिसहरू यमराजका दूत आएको खबरले त्रसित थिए हरेक मानिस आफू बाचिने हो कि होइन भनेर त्रसित थिए । भोलिपल्ट त्यो गाउँमा ४० जना मरेको खबर आयो ।  यमराजका दूत फर्किने बेलामा ती साधुले आक्रोशित हुँदै पुनः ती दूत हरूलाई प्रश्न गरे ४ जना लग्ने भनेर किन ४० जनाले मृत्युवरण गर्नु पर्‍यो ? तब ती यमराजका दूतले जवाफ दिए हामीले लगेको आयु पुगेका ४ जना नै हो बाकीं ३६ जना त यो गाउँमा यमराजका दूत आएका छन् भन्ने त्रासका मरेका हुन् भन्ने जवाफ पाए ।

विश्वव्यापी फैलिएको कोरोना महामारीको अवस्था पनि यति बेला माथि उल्लेख गरिएको प्रसङ्ग जस्तै हो । चाहे संक्रमित हुन् या असंक्रमित मानसिक रूपमा ग्रसित छन् ।स्वास्थ्य क्षेत्रका विज्ञहरूले यसबाट बच्ने जुन उपायहरू सुझाएका छन् तिनीहरूको पालना गरेको खण्डमा कोरोना आफै झम्टिन आउँदैन । तर सावधानी अपनाउने मामिलामा भने कुनै सम्झौता गर्नु हुँदैन । तर आम जनमानसमा यस्तो त्रास फैलाइदिए कि गत वर्ष अस्ट्रेलिया महादेशमा   भीषण आगलागीले लाखौँ किलोमिटर सखाप बनाएको जस्तै कोरोनाको त्रासलाई देखाइएको छ ।

त्रास होइन सावधानी अपनाउनु पर्छ भन्ने कुरा हाम्रो समाजमा हल्काफुल्का पाराले लिएको पाइन्छ । यो लकडाउनको  अवधिमा म एक दिन बाटोमा जाँदै थिए केही मानिस आफूमा खासखुस गर्दै भन्दै थिए कि अगाडी चोकमा पुलिस छ माक्स लगाई हालौ है । उनीहरूको कुरा सुन्दा यस्तो लाग्दै थियो कि मानौ पुलिसले कोरोना पक्रेर राखेको छ जो माक्स लगाउदैंन उसको अगाडी फुत्त भाइरस फालिदिन्छ । अनि हामी भन्छौ कोरोनाको महामारी छ भिडभाड नगरौँ अहिले पुलिस आउँछ ।

के पुलिस आएपछि मात्र भिडभाडमा कोरोना आउने हो र? त्यति मात्र कहाँ हो र अन्य जोखिमका लागि पनि हामी सतर्कता अप्नाउदैनौ जस्तै मोटरसाइकल चलाउँदा ट्राफिक पुलिसले देख्छ अनि जरिवाना तिराउँछ भनेर हेलमेट लगाउँछौ । हामी यो बिर्सी सकेका  हुन्छौ कि हेलमेट आफ्नै टाउकाको सुरक्षाको लागि हो । त्यस्तै बसमा यात्रा गर्दा हामीले देखेका छौ कि ट्राफिक पुलिस नहुने बाटोमा बसको क्षमता भन्दा बढी बसभित्र र छतमाथि अटेसम्म यात्रु कोचिन्छ जब पुलिसको चेकिङ पोस्ट आउँछ तब ती बसको छतमा बस्नेलाई पनि भित्र खाँदिन्छ । यहाँ निर दुर्घटना को डर भन्दा पनि पुलिसको डर पो देखियो । यी र यस्ता दृष्टान्तले प्रस्ट बनाइसक्यो कि हामी कति आफ्नो जीवन सुरक्षाको लागि संवेदनशील भएर सावधानी अपनाउँछौँ ।

यो कोरोना आउनु भन्दा अघि लकडाउन भन्ने शब्द  प्राय सबैका लागि अपरिचित थियो, कहीँ कतै प्रयोगमा आएको थिएन । बरु कर्फ्यु भन्ने शब्द हाम्रो समाजमा बढी प्रचलित थियो । कर्फ्यु, हडताल को पिडा महसुस गरिसकेका छौ  तर लकडाउनको पिडा यति बेला भोगी रहेका छौ । सधैभरी  लकडाउन गरेर मात्र हुँदैन । शुरुआती चरणमा जे भए पनि अबको पालो त्रास भन्दा सावधानी र समाज भित्रको व्यक्तिगत दुरी  कायम गर्नु आवश्यक छ । यो नै कोरोनाबाट बच्ने उत्तम उपाय हो ।

शहरी क्षेत्रमा सामाजिक दुरी लाई अलिकति विचार पुर्‍याउनु पर्ने हुन्छ किनकि बाक्लो जनघनत्व, उनीहरूका दैनिक क्रियाकलापमा कैयौँ अपरिचित मानिस सँग रहेर काम गर्नु पर्ने हुन्छ र यसबाट संक्रमणको जोखिम बढी हुन्छ । तर सहरको विपरीत गाउँघर तिर घरको दुरी नै टाढा हुन्छ । घर वरिपरि खेतबारी हुन्छ । यदि चाहने हो भने सामाजिक दुरी सहजै कायम गर्न सकिन्छ। अझै पहाडी क्षेत्रको ग्रामीण बस्तीको कुरा गर्ने हो भने एउटा घर र अर्को घरको दुरी सयौँ मिटर टाढा हुन्छ ।  यस्तो अवस्थामा त झन् घर भित्र बसौँ भन्ने नारा नै चाहिँदैन । बर्खे खेतीपाती लगाउने बेला आउदैछ घर भित्र बसेर पनि खान पुग्ने अवस्था छैन । तसर्थ दुरी कायम गरी आफ्नो काम गरौँ भन्ने बेला आयो कि?

पश्चिमा मुलुकमा कोरोनाले ठुलै मानवीय क्षति गरे पनि अहिलेसम्मको अवस्थासम्म नेपालमा त्रास धेरै भए पनि मानवीय क्षति भने न्यून नै छ, भोलिका दिनमा यो महामारीले कुनरुप लिनेछ त्यो मैले भन्न सक्ने भएन । तर पछिल्ला दिनमा नेपालमा कोरोनाको त्रास कम हुँदै गएको छ । कोरोना संक्रमितहरुलाई अस्पतालमा स्वास्थ्य कर्मीको निगरानीमा राखिए  पनि उनीहरूमा कुनै जटिल समस्या नदेखिँदा पनि आम जनमानसमा त्रास घटाएको छ । अब त  लकडाउनले भोकै बस्नुपर्ने स्थिति आउँदा मानिसहरूमा यो कोरोना लागि हाले पनि मरिदैन भन्ने शाहस देखा पर्न थालिसक्यो ।

तर यतिहुदाहुदै पनि आगो बाल्न एउटा सलाईको काटी पर्याप्त छ । आगो सलाईको काँटीमै सीमित छदा सहजै निभाउन सकिएला तर यो फैलिसकेपछि भने भयावह नै हुन्छ जुन नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यस्तै कोरोना पनि एक सलाईको काँटीमा बलेको आगो हो जुन सावधानी र सतर्कता अपनाएन भने भयावह नहोला भन्न सकिँदैन ।

(लेखक,कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीका उप–प्रध्यापक हुन।)

 


प्रतिकृया दिनुहोस